मुक्तिनाथ

 

हिन्दु र बौद्धमार्गीको साझा तीर्थ हो मुक्तिनाथ (३,८०० मिटर) मन्दिर । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ ।
मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् ।
बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप बाल्छन् ।
हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए । यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए । पछि तिनै देवता त्यहीँ बसे ।
त्यहाँका कुण्डहरुको जलबाट १०८ धारा बनाइएको मानिन्छ । बौद्धमार्गीको भनाई चाहिँ फरक छ । उहिल्यै भारतबाट ८० जना बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएका थिए । फर्किँदा उनीहरुले कैलाशको जल लिएर आए । त्यो जल मुक्तिनाथमा सञ्चय गरे । त्यसबाटै १०८ धारा बनाइयो ।
मुक्तिनाथमा प्राचीन नरसिंह गुम्बा छ । गुम्बाभित्र गुरु पद्यसंभवको मूर्ति छ । उनी तिब्बत जाँदा केही समय मुक्तिनाथमा ध्यानमा बसेका थिए । त्यहाँ अरु गुम्बा र ज्वालामाई मन्दिर पनि छन् । मन्दिर हातामा ढुँगैढुँगाको शाक्यमुनि बुद्ध र रानीपौवा बजारमाथि गुरु पद्मसंभवको अजंगको मूर्ति बनाइएको छ ।
तिर्थालुलाई मुक्तिनाथको वेस क्याम्प रानीपौवामा दुई दर्जन होटल र दुईटा धर्मशाला छन् ।