लो–मन्थाङ

 

चिसो मरुभूमी लो–मन्थाङ पर्खालले घेरिएको एउटा शहर । विश्व सम्पदा सूचीमा प्रस्तावित लो–मन्थाङ भोटे संस्कृति, बौद्ध दर्शन र हिमाली जीवन अध्ययन केन्द्र बनेको छ । उपल्लो मुस्ताङमा साबिकका छोसेर, छोन्हुप, लो–मन्थाङ, सुर्खाङ, चराङ, घमी र छुक्साङ् गाविस पर्छन् ।
लो–मन्थाङ (३८५० मिटर) स्यानो उपत्यका हो । पर्खालभित्र दुई सय घर र ठूल्ठूला दुई गुम्बा छन् । शत्रुबाट बच्न पर्खाल लगाइएको इतिहास छ । वर्गाकार पर्खालको उचाइ ८ मिटर छ । यो उत्तर दक्षिण २ सय ८० मिटर र पूर्वपश्चिम १ सय ६० मिटर फैलिएको छ । शत्रु हेर्न ५०–५० मिटर फरकमा १२ मिटर अग्ला बुर्जा छन् ।
लो–मन्थाङका पहिलो राजा आमे पाल हुन् । उनी पश्चिमी तिब्बतको माङ्ग्युल गुन्थाङ राज्यका सेनापति थिए । सन् १४४० तिर उनले आफूलाई लो–मन्थाङको राजा घोषणा गरे । सन् १४४७ मा उनका छोरा आङ्गोन साङ्पो राजा बने ।
आमे पाल राजा भएपछि तिब्बतबाट साक्यपा सम्प्रदायका गुरु ङोर्छेन कुङ्गा साङ्पो झिकाएर उनलाई राजगुरु बनाइयो । तिनै साङ्पोले चराङ गुम्बा बनाए । त्यही बेलादेखि चराङमा राजाका माइला छोरा प्रमुख लामा हुने चलन छ ।
तिनताक लो–मन्थाङ राज्य पूर्वमा नुब्री उपत्यका, पश्चिममा डोल्पा र दक्षिणमा पर्वतसम्म फैलिएको थियो । राजा रणबहादुर शाहको पालामा लो–मन्थाङ नेपाल राज्यअन्तर्गत आयो । त्यति बेला १४ औँ राजा वाङ्ग्याल दोर्जे थिए । नेपालमा गाभिए पनि उनको पदवी खोसिएन, रजौटा भएर बसे । राजा महेन्द्रको राजा रजौटा उन्मूलन ऐनले बझाङ, मुस्ताङ, सल्यान र जाजरकोटका राजाको पदवी खोस्यो । उनीहरूलाई मानार्थ कर्नेल पदवी दिइयो । पछि सर्वसाधारणले राजाकै उपमा दिए ।
लो–मन्थाङका अन्तिम राजा जिग्मे पालबर बिष्ट हुन् । उनको निधन भैसक्यो ।
भोटका बस्तीहरुमा कलात्मक छोर्तेन र गुम्बा छन् । लो–मन्थाङ क्षेत्रमा अनौठा गुफा छन् । छोसेरको निफुग गुम्बा, १ सय ८ कोठे पाँचतले विचित्रको झोङ गुफा हेर्न लायक छ ।
जोमसोमदेखि लो–मन्थाङ ८६ किलोमिटरसम्म जीपमा एकै दिनमा पुग्न सकिन्छ । त्यहाँ होटलमा बस्ने र घोडा चढ्ने सुविधा छ । लो–मन्थाङ नजिकै छ कोरला नाका ।