ठिनी

मुस्ताङको सदरमुकाम जोमसोम बजारबाट दक्षिणपट्टि निलगिरि हिमालको काखमा टुसुक्क बसेको एउटा सुन्दर गाउँ–ठिनी । घरपझोङ गाउँपालिका–५ मा अवस्थित थकाली वस्तीमा एक सय दश घर छन् । ठिनीको पुरानो नाम सुम्प हो ।

जोमसोमसँग कुम जोडेको छ ठिनी (२,८६२ मिटर)ले । प्रकृति, संस्कृति र इतिहासको यो त्रिबेणीधामलाई ‘लुकेको हिरा’ भन्न सकिन्छ ।

ठिनीमा तरकारी राम्रो उत्पादन हुन्छ । गाउँले मेहेनती छन्, खेतबारीमा पसिना चुहाउँछन् । यतिवेला गाउँलाई पर्यटकीय गन्तव्य बनाउने अभियान चलेको छ । ठिनी क्षेत्रमा घुम्न लायक थुप्रै सम्पदा छन् । गाउँबाट आधा घन्टामा ढुम्बाताल पुगिन्छ । त्यस्तै ४५ मिनेटमा कुछप तेरेङगा गुम्बा, २० मिनेटमा घरपझोङ किल्ला, ३ घन्टामा यारुझु भ्यू प्वाइन्ट, १० मिनेटमा हिउँचितुवा गुफा, ७ घन्टामा नमखुलेक, २ दिनमा तिलिचो ताल, १ दिन पदयात्रामा मुक्तिनाथ, ३ घन्टामा मार्फा, ३ घन्टामा कैशाङ क्याम्प र ४५ मिनेटमा सामुदायिक स्याउ बगान पुगिन्छ ।

कैशाङ क्याम्प नेपाली सेनाको कब्जामा छ । विसं २०३२ मा त्यहाँबाट सेनाले तिब्बती खम्पा बिद्रोहीलाई परास्त गरेको थियो । क्याम्पलाई नेपाली सेनाले हाई अल्टिच्यूड टे«निङस्थल बनाएको छ । त्यहाँ विदेशी सैनिक पनि तालिम लिन आउँछन् ।

ठिनीमा पर्यटक बढाउन मेसो कान्तो भञ्ज्याङ छिचोलेर मनाङ र मुस्ताङ वारिपारी गर्ने पदमार्गलाई नयाँ ढँगले ब्राण्डिङ गर्नु आबश्यक छ । मेसो कान्तो बेस क्याम्पमा होटल सुविधा छैन । त्यहाँ होटल खुल्नु पर्छ । अनि यो रुटलाई ‘निलगिरि टे«क’का रुपमा ब्राण्डिङ गर्न सकिन्छ । निलगिरि ठिनी गाउँको श्रीपेच हो ।

कसरी पुग्ने

अन्नपूर्ण क्षेत्रको वैकल्पिक पदमार्गमा पर्छ ठिनी । जोमसोमदेखि मुक्तिनाथसम्म मोटर बाटो जोडिएकाले अचेल पदयात्रीहरु मुक्तिनाथबाट लुब्रा, ठिनी हुँदै ढुम्बातालको बाटो भएर मार्फा गाउँ झर्छन् ।
आन्तरिक पर्यटक पनि बरोबर ठिनी पुग्छन् । गाउँमा मिठो खाना र आत्मीय व्यवहार पाइन्छ । गाउँमा तीन होटल छन्–होटल तिलिचो पिक, होटल निलगिरि भ्यू र होटल
रोयल भिलेज । त्यस्तै सामुदायिक होमस्टेका
८ घरमा होमस्टे सुविधा पाइन्छ ।

पर्यटकले मुक्तिनाथ र लो–मन्थाङ घुमफिरमा निस्किँदा कम्तिमा एक रात ठिनीमा बस्ने योजना बनाउनु बेस हुन्छ । यसबाट तीन कुरा फाइदा हुन्छ, पहिलो ठिनीको सौन्दर्यमा रमाउन पाइन्छ । दोस्रो
सस्तोमा खाना र बास पाइन्छ । र, तेस्रो ग्रामीण अर्थतन्त्रमा टेवा पुग्छ ।

जोमसोमबाट २२ किमि दूरीमा मुक्तिनाथ मन्दिर छ । ११ किमि कटेपछि कागबेनी आउँछ । कागबेनीबाट मुक्तिनाथसम्म ११ किमि सडक पक्कि भैसकेको छ । ठिनीबाट २४ किमिमा मुक्तिनाथ । ठिनीबाट जीपमा एकै दिनमा लो–मन्थाङ पनि पुग्न सकिन्छ ।
काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घन्टा । बेनी–जोमसोम ७५ किमि, बसमा ६ घन्टा । अथवा पोखरा–जोमसोम हवाई उडान १८ मिनेट । जोमसोम–ठिनी २ किमि । ठिनीसम्मै
सडक छ, जीप, मिनिबस र मोटरबाइक गाउँमै लान सकिन्छ । जोमसोमबाट दक्षिणतिर हिँडेर जाँदा ठिनी पुग्न ३० मिनेट ।
हिउँचितुवा गुफा
ठिनी माथि लेकमा हिउँचितुवाको बासस्थल छ । त्यसैले जनमुक्ति युवा क्लबले गाउँको भित्तामा भएका
गुफालाई २०७३ सालमा हिउँ चितुवा नामाकरण गरेको हो । त्यहाँ मज्जाका तीनवटा गुफा छन् । गुफाभित्र
ध्यान कक्ष बनाउने क्लबको योजना छ ।
ठिनीलाई हिउँचितुवाको राजधानी घोषणा गर्नु पर्ने युवाको माग छ । गाउँमाथि नमखुलेकतिर हिउँचितुवा
डुल्छन् । त्यहाँ एक्यापको क्यामेरा ट्रयापिङमा ४ वटा हिउँचितुवा परेका थिए । ठिनीबाट एक दिन हिँडेपछि
तिलिचो हिमालको फेद नमखुलेक पुगिन्छ । लेकमा धर्मशाला छ । तिलिचो पिक र निलगिरि हिमालको
काखमा अवस्थित नमखुलेकमा हिउँ चितुवा पाइन्छ ।

संग्रहालय

ठिनी गाउँ आफैंमा खुल्ला संग्रहालय हो जहाँ थकालीपन अध्ययन गर्न पाइन्छ । गाउँमा थकाली जीवनशैली, संस्कृति र इतिहास झल्काउने एउटा संग्रहालय पनि बनाइएको छ जुन
२९ चैत २०७३ देखि सञ्चालनमा आएको हो ।
संग्रहालयमा कपडा, गहना, भाँडावर्तन, हतियार, भान्छा आदिलाई कलात्मक ढँगले सजाइएको छ । त्यहाँ राजा थोक्करचेनको पालाका लामा लामा बन्दुक पनि छन् । दर्जनौं
सामान संग्रह गरिएको छ । संग्रहालय घुम्न प्रबेश शुल्क तिर्नु पर्छ ।
घरपझोङ

घरपझोङ

घरपझोङको अर्थ सबैले मनपराएको गाउँ भन्ने बुझिन्छ । ठिनी मास्तिरको घरपझोङ किल्लामा घरका भग्नावशेष छन् जुन हिउँले खिइँदै गएका छन् । पहिला त्यहाँ वस्ती थियो । पछि डाँडाको वस्ती सररे थाक पाँच गाउँ (स्याङ्, ठिनी, मार्फा, छैरो र चिमाङ) बनेका ।
इतिहासविद् डा. रमेश ढुँगेलका अनुसार मुस्ताङ भेगमा आठौँ शताब्दीको मध्यताका या–लुङर्् सैन्यका साथमा बौद्ध परम्पराको प्रवेश हुँदा शे–रिव नामको स्थानीय राज्य अस्तित्वमा थियो । त्यसको केन्द्र पनि घरपझोङ नै थियो ।
घरपझोङको दरबारमा बसेर राजा ठोकरचेन शासन चलाउँथे । उनको निधारको तल्लो भाग (दुई आँखी भौं बीच)मा कालो कोठी थियो । त्यही भएर उनलाई तीन आँखे राजा भनिन्थ्यो । घरपझोङमा पानी अभाव भएपछि ठिनीमा वस्ती सरेको अनुमान छ । राजा ठिनी बसे, कतिपय गाउँले अन्यत्र सरे ।
‘गरावजोङ’ शब्द अपभ्रंस भएर घरपझोङ भनिएको । डाँडामा भग्नावशेषसँगै एउटा नयाँ चैत्य पनि छ । डाँडाबाट ठिनी गाउँ, धौलागिरि, निलगिरि, स्याङ हिमाल, जोमसोम, कालीगण्डकी र ढुम्बा ताल आदि छर्लंग देखिन्छ ।
ढुम्बाताल
नेपाली चलचित्र ‘जेरी’ ठिनीमा शुटिङ भएको थियो । त्यहाँ ढुम्बातालको रमणीय दृश्य देखिन्छ । ठ्याक्कै मुटु आकारको तालमा मायालु मनहरु भावुक बन्छन् । अनि आपसमा माया साट्छन् ।
तालको पानी निलो छ । बिहानीपख तालमा निलगिरिको छायाँ टलक्क टल्किन्छ । ताल करिब
१ सय ३० मिटर चौंडा, १ सय ६० मिटर लामो र १० मिटर गहिरो छ । यसको फन्को मार्न
१५ मिनेट लाग्छ ।
कुछप तेरेङगा गुम्बाको अगाडि पर्ने ताललाई पवित्र मानिन्छ । यसको चोखो पानी गुम्बाभित्र कचौरामा राखिन्छ । पानी बिहान भर्ने र बेलुकी फ्याँक्ने गरिन्छ । तालको संरक्षण कुछप तेरेङगा गुम्बाले गर्दै आएको छ ।
पानीमा हाँस र माछा देखिन्छ । वरपरबाट जंगली जनावर पानी खान आउँछन् । तलाउमा डुँगा चढ्ने सुविधा छैन । किनारमा सामान्य खाजा पसल छ ।
कुछप तेरेङ्गा गुम्बा
हिमाली भेकमा बोन धर्मको अभ्यास भएका बेला सातौं शताब्दीको अन्त्यदेखि आठौं शताब्दीसम्म गुरु रिम्पोचे (पद्यसंभव)ले बौद्ध धर्म प्रचारमा ठूलो योगदान गरेका थिए । तिनै गुरुका पाँच प्रतिनिधि रत्न भएको गुम्बा ठिनी गाउँ नजिकै छ–कुछप तेरेङगा गुम्बा जहाँ पद्यसंभवका दोचा, कपडा, कपाल आदि सामाग्री सुरक्षित छन् । गुम्बाभित्र पद्यसंभवसहित अरु बोधिसत्व र गुरुका मूर्ति छन् । गुम्बाका संस्थापक लामा उर्गेन पाल्शाङ हुन् ।

यारुझु भ्यू पोइन्ट

यारुझु भ्यू प्वाइन्ट (३,७५० मिटर) बाट निलगिरि, धौलागिरि, मेसोकान्तो पिक, तिलिचो पिक, स्याङ हिमाल र उपल्लो मुस्ताङका नाँगा पहाडको लर्कनै देखिन्छ । त्यस्तै कालीगण्डकी भ्यालीका गाउँहरु–जोमसोम, मार्फा, स्याङ, पाक्लिङ, प्mल्याक, धाकरजोङ, कागवेनी आदि पनि । मुक्तिनाथका साथै कालीको बगरहुँदै कागबेनीदेखि लो–मन्थाङ जाने बाटो र कोरला रेञ्जसम्म देखिन्छ । ०७३ कात्तिक ६ गते उद्घाटन गरिएको भ्यू प्वाइन्ट पुग्न ठिनीबाट ३ घन्टा हिँड्नु पर्छ ।

संस्कृति

थकाली समुदायको आफ्नै कला र संस्कृति छ । उनीहरुको प्रमुख पर्व फालो हो । त्यतिबेला तिर हान्ने खेल (आर्चरी) खेलिन्छ । इष्टमित्र र आफन्तजनलाई घरमा बोलाएर खानपिन गराइन्छ । ठिनीका बासिन्दा विभिन्न समयमा विभिन्न किसिमका नाचगान गर्छन् । त्यहाँका परम्परागत नाचहरुमा याक नाच, लोक नाच र ढोंग्री नाच हुन् । पर्यटकको डिमाण्ड अनुसार गाउँमा उनीहरु नाच देखाउँछन् ।

१२ वर्षे देवी

मुस्ताङमा एउटा भनाई चल्तिमा छ–आशिष थाप्नु परे थाक ठिनी गाउँ जानु । त्यसैले होला गाउँमा मान्यजन र आयलम (पूजारी)बाट आशिष थाप्ने चलन छ । ठिनीमा हरेक १२ वर्षमा देवी छेव ढोङताङभ्यो दर्शन मेला लाग्छ । मेलामा आशिष थाप्नेहरुको घुइँचो हुन्छ ।
‘ल्अ फेव’ मेलामा देवी ढोङताङभ्योको दर्शनले दीर्घायू, सम्पत्ति र सन्तान प्राप्ति हुने जनविश्वास छ । देवीले एक पटकमा एउटा मात्र वर दिन्छिन् ।
गाउँ वीचमा रहेको ल्अखिम कर्पो (सेतो मन्दिर)मा मेला लाग्छ । पछिल्लोपटक ०७३ चैत २९ गतेदेखि ०७४ वैशाख १३ गतेसम्म मेला लागेको थियो । वोन धर्म अन्तर्गत आयधर्म सम्प्रदायकोे प्रतिक मानिन्छ सेतो मन्दिर । त्यहाँ हरेक १२ वर्षमा जम्मा १५ दिन मात्र साक्षात देवीको दर्शन मिल्छ । अरुबेला देवीको मूर्तिलाई कपडाले बेरेर राखिन्छ । तिनको प्रतिकृति मात्र खुला गरिन्छ । जसलाई आयलम (पूजारी)ले दिनहुँ पूजापाठ गर्छन ।
मेलामा तीन वटा मूर्तिलाई दुग्ध स्नान गर्दै पूजिन्छ । एउटा साक्षात देवीको मूर्ति, अर्को महाशक्ति देव छेव तेताङभ्यो र अर्को देवीको स्वरुप (कुछप) ।
ल्अ फेव मेलाकै बेला ठिनीका अरु दुई गुम्बामा पनि मूर्ति देखाइन्छ । चकिथिन छेखाङमा हरेक १२ वर्षमा नाम्चाक्फूर्व देखाइन्छ । चन्दनबाट बनेको धोर्जे फूर्व भने अरु बेला पनि देखाइन्छ । कुछब तेरेङगा गुम्बाका बहुमुल्य सामान चाहिँ बोन गुम्बा युङडुङमा देखाइन्छ ।

थकाली स्वाद

थकाली खाना सम्झने वित्तिकै सबैको जिब्रो रसाउँछ । आखिर खानेकुरा त त्यही दाल, भात, ढिँडो, तरकारी,
साग, अचार, मासु आदि हो । तर, थकाली भान्छा नै किन बढी स्वादिलो !
विज्ञहरु भन्छन्–खाना पहिला आँखाले खान्छ, त्यसपछि नाकले अनि मात्र मुखले । खाना देख्नेवित्तिकै आँखा
रमाउनु पर्छ अनि त्यसको बासनाले नाक । बल्ल जिब्रोले स्वाद लिन्छ । यो भनाई थकाली भान्छामा लागु हुन्छ । थकाली समुदाय चिटिक्क पारेर थालमा पस्किन्छ । खानाको बासना हरर चल्छ । खाँदा मिठो हुन्छ ।
अचम्म ! थकालीको उद्गम थलो मुस्ताङमा धान फल्दैन । त्यहाँ आलु, फापर र उवा खेती गरिन्छ । तर, जीवनमा कहिल्यै धान नरोपेका थकालीले पकाएको दालभात चाहिँ जिब्रोमै झुण्डिन्छ !
खानेकुरा राम्रोसँग पस्किने शैली र टवाक्क स्वाद दिन सकेकै कारण खानामा ‘थकाली ब्राण्ड’ स्थापित भएको हो । त्यसैले आज देशका प्रमुख सहरमा थकाली भान्छाको दुःख छैन ।
थकाली समुदायको प्राचीन थलो ठिनीमा त झन् टिपिकल स्वाद पाइन्छ । त्यहाँ दालभात मात्र होइन, कन्छेम्पो,
सातु, उवाको रक्सी, नुन चिया, सुकुटी आदि लोकल परिकारमा रम्न सकिन्छ ।

थकाली सामुदायिक होमस्टे

नेपालमा थकाली समुदायले चलाएको पहिलो सामुदायिक होमस्टे ठिनीको हो । विसं २०७४ वैशाखदेखि गाउँमा होमस्टे शुभारम्भ गरिएको थियो । होमस्टेको औपचारिक उद्घाटन त्यही वर्षको भदौ १० गते नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले गरेका हुन् । ५ घरबाट सुरु गरिएकामा अचेल ८ घरमा होमस्टे सुविधा दिलाइन्छ । त्यहाँ सस्तोमा खाना र बास पाइन्छ । गाउँलेको आत्मीयता चाहिँ अमूल्य हुन्छ ।

कोसेली
ठिनीमा सिमी, लसुन, जिम्बु, स्याउ, खुर्पानी, यार्चागुम्बा, शालीग्राम, स्याउको
सुकुटी, जुस, ब्राण्डि, याक तथा च्याङग्राको सुकुटी, ढाप्रा दाल, फापर र उवाको पिठो एवं तरकारी किन्न पाइन्छ । वारी जोमसोम बजारमा पनि थुप्रै छन् कोसेली घरहरु ।

कागबेनी
कागबेनी हिन्दु र बौद्धमार्गीको साझा तीर्थ हो जहाँ प्राचीन गुम्बा र मन्दिर छन् । हिन्दुहरु त्यहाँ श्राद्ध गरेर पितृ तर्पण गर्छन् । बिशेषतः बडा दसैंको सोह् श्राद्धका बेला भिड लाग्छ । त्यसो त कागबेनीमा श्राद्ध गर्न कुनै तिथि कुर्नु पर्दैन, जहिले गरेपनि हुन्छ । त्यहाँको बजारमा खाना र बासका लागि आरामदायी होटल छन् । ठिनीबाट करिब १३ किमि दूरीमा छ कागबेनी । यहीँबाट मुक्तिनाथ र लो–मन्थाङ जाने बाटो छुट्टिन्छ ।

मुक्तिनाथ
हिन्दु र बौद्धमार्गीको साझा तीर्थ हो मुक्तिनाथ (३,८०० मिटर) मन्दिर । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ ।
मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् ।

बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप बाल्छन् ।
हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए । यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए । पछि तिनै देवता त्यहीँ बसे ।
त्यहाँका कुण्डहरुको जलबाट १०८ धारा बनाइएको मानिन्छ । बौद्धमार्गीको भनाई चाहिँ फरक छ । उहिल्यै भारतबाट ८० जना बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएका थिए । फर्किँदा उनीहरुले कैलाशको जल लिएर आए । त्यो जल मुक्तिनाथमा सञ्चय गरे । त्यसबाटै १०८ धारा बनाइयो ।
मुक्तिनाथमा प्राचीन नरसिंह गुम्बा छ । गुम्बाभित्र गुरु पद्यसंभवको मूर्ति छ । उनी तिब्बत जाँदा केही समय मुक्तिनाथमा ध्यानमा बसेका थिए । त्यहाँ अरु गुम्बा र ज्वालामाई मन्दिर पनि छन् । मन्दिर हातामा ढुँगैढुँगाको शाक्यमुनि बुद्ध र रानीपौवा बजारमाथि गुरु पद्मसंभवको अजंगको मूर्ति बनाइएको छ ।
तिर्थालुलाई मुक्तिनाथको वेस क्याम्प रानीपौवामा दुई दर्जन होटल र दुईटा धर्मशाला छन् ।

लो–मन्थाङ
चिसो मरुभूमी लो–मन्थाङ पर्खालले घेरिएको एउटा शहर । विश्व सम्पदा सूचीमा प्रस्तावित लो–मन्थाङ भोटे संस्कृति, बौद्ध दर्शन र हिमाली जीवन अध्ययन केन्द्र बनेको छ । उपल्लो मुस्ताङमा
साबिकका छोसेर, छोन्हुप, लो–मन्थाङ, सुर्खाङ, चराङ, घमी र छुक्साङ् गाविस पर्छन् ।
लो–मन्थाङ (३८५० मिटर) स्यानो उपत्यका हो । पर्खालभित्र दुई सय घर र ठूल्ठूला दुई गुम्बा छन् । शत्रुबाट बच्न पर्खाल लगाइएको इतिहास छ । वर्गाकार पर्खालको उचाइ ८ मिटर छ । यो उत्तर दक्षिण २ सय ८० मिटर र पूर्वपश्चिम १ सय ६० मिटर फैलिएको छ । शत्रु हेर्न ५०–५० मिटर फरकमा १२ मिटर अग्ला बुर्जा छन् ।
लो–मन्थाङका पहिलो राजा आमे पाल हुन् । उनी पश्चिमी तिब्बतको माङ्ग्युल गुन्थाङ राज्यका
सेनापति थिए । सन् १४४० तिर उनले आफूलाई लो–मन्थाङको राजा घोषणा गरे । सन् १४४७ मा उनका छोरा आङ्गोन साङ्पो राजा बने ।
आमे पाल राजा भएपछि तिब्बतबाट साक्यपा सम्प्रदायका गुरु ङोर्छेन कुङ्गा साङ्पो झिकाएर उनलाई राजगुरु बनाइयो । तिनै साङ्पोले चराङ गुम्बा बनाए । त्यही बेलादेखि चराङमा राजाका माइला छोरा प्रमुख लामा हुने चलन छ ।
तिनताक लो–मन्थाङ राज्य पूर्वमा नुब्री उपत्यका, पश्चिममा डोल्पा र दक्षिणमा पर्वतसम्म फैलिएको थियो । राजा रणबहादुर शाहको पालामा लो–मन्थाङ नेपाल राज्यअन्तर्गत आयो । त्यति बेला १४ औँ राजा वाङ्ग्याल दोर्जे थिए । नेपालमा गाभिए पनि उनको पदवी खोसिएन, रजौटा भएर बसे । राजा महेन्द्रको राजा रजौटा उन्मूलन ऐनले बझाङ, मुस्ताङ, सल्यान र जाजरकोटका राजाको पदवी खोस्यो । उनीहरूलाई मानार्थ कर्नेल पदवी दिइयो । पछि सर्वसाधारणले राजाकै उपमा दिए ।
लो–मन्थाङका अन्तिम राजा जिग्मे पालबर बिष्ट हुन् । उनको निधन भैसक्यो ।
भोटका बस्तीहरुमा कलात्मक छोर्तेन र गुम्बा छन् । लो–मन्थाङ क्षेत्रमा अनौठा गुफा छन् । छोसेरको निफुग गुम्बा, १ सय ८ कोठे पाँचतले विचित्रको झोङ गुफा हेर्न लायक छ ।
जोमसोमदेखि लो–मन्थाङ ८६ किलोमिटरसम्म जीपमा एकै दिनमा पुग्न सकिन्छ । त्यहाँ होटलमा बस्ने र घोडा चढ्ने सुविधा छ । लो–मन्थाङ नजिकै छ कोरला नाका ।

ट्राभल टिप्स
- मुस्ताङ चिसो ठाउँ भएकाले न्याना कपडा, माकल टोपी, पानी बोतल, क्यामेरा, सन ग्लास, कोल्ड क्रिम आदि साथमा बोक्ने ।
- ठिनी उचाईमा रहेको गाउँ भएकाले सुस्तरी हिँड्ने । बेलाबेलामा पानी पिउने । झोलिलो कुरा बढी पिउने । होमस्टे तथा होटलको परिकारमा रमाउने, परम्परागत लोकल खानेकुरा चाख्ने ।
- होमस्टेमा बस्ने गरी जाँदा घाम नअस्ताउँदै गाउँमा पुग्ने । तरकारी केलाउन, पकाउन वा अन्य घरायसी काममा होस्ट परिवारलाई सघाउने । राती अबेरसम्म बसेर होहल्ला नगर्ने ।
- स्थानीय कला, संस्कृति र जीवनशैलीको सम्मान गर्ने ।
- ठिनी वर्षैभरि घुम्न सकिन्छ । जानु अघि त्यहाँको मौसमको आबश्यक जानकारी लिने ।
* थकाली सामुदायिक होमस्टे
* जुमा थकाली – ०६९–४४०३९७, ९८४६३९६७९१
* आइत थकाली – ०६९–४४०२६६, ९८४७६१६८१६
* बत्तीमाया थकाली – ९८४७७२९७४०
* ठिनीका होटलहरु
* होटल तिलिचो पिक – ०६९–४४०२६२, ९८४९५२१५४९
* होटल निलगिरी भ्यू – ०६९–४४०३९५, ९८४७६१६९८२
* होटल रोयल भिलेज – ०६९–४४०३३६, ९८४७६८२०१४
* थप जानकारीका लागि
* सन प्रसाद थकाली – ९८४७६३७९०१
* नरेन्द्र थकाली – ९८५७६५००५३
* निरज थकाली – ९८५७६५०३११
* जनमुक्ति युवा क्लब
* घरपझोङ–५, ठिनी, मुस्ताङ
* धधध।तजष्लष्।यचन
* धधध।ाबअभदययपरतजबपबष्जियmभकतबथ

आत्मीय गाउँ
दिपकराज जोशी
सिइओ, नेपाल पर्यटन बोर्ड
ग्रामीण पर्यटनको सुवास पाइन्छ ठिनीमा । मुक्तिनाथ वा लो–मन्थाङ घुम्नेहरुको एक रात आराम गर्ने थलो मात्र बन्नुहुँदैन
ठिनी । आफैंमा आकर्षक गन्तव्य बन्न सक्छ ठिनी, जहाँ दुई रात बसेर घुम्न सकिने ठाउँ छन् । जसरी थकाली समुदायले
चिटिक्क पारेर खाना पस्कन्छन् त्यसैगरी ठिनीले गाउँका चिजबिज पस्कन सके पर्यटनबाट मनग्गे फाइदा लिन सक्छ ।

आकर्षक गन्तव्य
पवन शाक्य
अध्यक्ष, कन्सेप्ट नेपाल
बक्तिमुनिको अँध्यारो भनेझैं भएको छ ठिनी । हामी गाउँलेहरु परम्परागत कृषिमा निर्भर छौं । हामी युवालाई समय अनुसार
अघि बढाउँछौं । पर्यटन पूर्वाधार विकास एवं प्रचार गरेर ठिनीलाई पर्यटन गाउँका रुपमा चम्काउन चाहन्छौं । पर्यटनबाट
आर्थिक अबस्था सुर्धान चाहन्छौं । हाम्रो गाउँमा आइदिनुस्, हामी मन खोलेर तपाइँको स्वागत एवं सत्कार गर्नेछौं ।

बक्तिमुनि अँध्यारो
नरेन्द्र थकाली
अध्यक्ष, जनमुक्ति युवा क्लब
ठिनी थकाली सभ्यताको उद्गमथलो हो । निलगिरि हिमालको उज्यालोमा चम्किएको हाम्रो गाउँलाई हामी पर्यटनका माध्यमले
संसारभर चिनाउने प्रयासमा छौं । थकाली संस्कृति, जीवनशैली र स्वादले हामी पर्यटकको मन जित्छौं । हाम्रो गाउँ घुम्नेहरु
दोहो¥याएर आउने वातावरण बनाएका छौं ।

थकालीको उद्गमथलो
निरज थकाली
सचिव, जनमुक्ति युवा क्लब
ठिनी थकाली सभ्यताको उद्गमथलो हो । निलगिरि हिमालको उज्यालोमा चम्किएको हाम्रो गाउँलाई हामी पर्यटनका माध्यमले
संसारभर चिनाउने प्रयासमा छौं । थकाली संस्कृति, जीवनशैली र स्वादले हामी पर्यटकको मन जित्छौं । हाम्रो गाउँ घुम्नेहरु
दोहो¥याएर आउने वातावरण बनाएका छौं ।