थकाली स्वाद

थकाली खाना सम्झने वित्तिकै सबैको जिब्रो रसाउँछ । आखिर खानेकुरा त त्यही दाल, भात, ढिँडो, तरकारी, साग, अचार, मासु आदि हो । तर, थकाली भान्छा नै किन बढी स्वादिलो ! विज्ञहरु भन्छन्–खाना पहिला आँखाले खान्छ, त्यसपछि नाकले अनि मात्र मुखले । खाना देख्नेवित्तिकै आँखा रमाउनु पर्छ अनि त्यसको बासनाले नाक । बल्ल जिब्रोले स्वाद लिन्छ । यो भनाई थकाली भान्छामा लागु हुन्छ । थकाली समुदाय चिटिक्क पारेर थालमा पस्किन्छ । खानाको बासना हरर चल्छ । खाँदा मिठो हुन्छ । अचम्म ! थकालीको उद्गम थलो मुस्ताङमा धान फल्दैन । त्यहाँ आलु, फापर र उवा खेती गरिन्छ । तर, जीवनमा कहिल्यै धान नरोपेका थकालीले पकाएको दालभात चाहिँ जिब्रोमै झुण्डिन्छ ! खानेकुरा राम्रोसँग पस्किने शैली र टवाक्क स्वाद दिन सकेकै कारण खानामा ‘थकाली ब्राण्ड’ स्थापित भएको हो । त्यसैले आज देशका प्रमुख सहरमा थकाली भान्छाको दुःख छैन । थकाली समुदायको प्राचीन थलो ठिनीमा त झन् टिपिकल स्वाद पाइन्छ । त्यहाँ दालभात मात्र होइन, कन्छेम्पो, सातु, उवाको रक्सी, नुन चिया, सुकुटी आदि लोकल परिकारमा रम्न सकिन्छ ।

थकाली खाना

फापरको रोटि

फापरको सलाद​

फापरको ढींडो

"खाना पहिला आँखाले खान्छ, त्यसपछि नाकले अनि मात्र मुखले ।"